बर्दियामा धमाधम लागूऔषध कारोबारी पक्राउ

गुलरिया : बर्दिया प्रहरीले लागूऔषध निस्तेज अभियान सञ्चालन गरी पछिल्लो समय लागूऔषध कारोबारीलाई धमाधम पक्राउ गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेमबहादुर शाहीका अनुसार शनिबार ठूलो परिमाणमा लागूऔषध (ब्राउन सुगर) सहित २ जना कारोबारी पक्राउ गर्न सफल भएको हो । गुलरिया नगरपालिका वडा नं.११ गणेशपुरस्थित नयाँ बन्दै गरेको घरको कोठाबाट गुलरिया–४ का २५ वर्षका अरिव खान पठानलाई २४ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको डीएसपी शाहीले जानकारी दिए ।
त्यस्तै, बर्दिया प्रहरीले शुक्रबार भारतबाट नेपालतर्फ आउँदै गरेको बाँकेको खजुरा गाउँपालिका वडा नं.१ का २२ वर्षिय सुमित सुनारलाई ४ ग्राम २६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा दुबैजना ब्राउन सुगरको कारोबारी रहेको बुझिएकोले थप अनुसन्धान भइरहेको डीएसपी शाहीको भनाइ छ । जिप्रका बर्दियाले यसअघि बर्दियाको राजापुर, गेरुवा, मधुवन, गुलरियालगायतका क्षेत्रबाट लागूऔषधसहित संलग्न युवालाई पक्राउ गरिसकेको छ ।