सोफिया स्कुलका ६९० विद्यार्थीको सामूहिक नृत्य !

नेपालगन्ज : न कुनै प्रतियोगिता, न त रेकर्ड राख्ने कार्यक्रम नै । ठूलो संख्याका विद्यार्थीले एकसाथ नृत्य गर्छन् । त्यो पनि लगातार २० मिनेटसम्म ।
झट्ट सुन्दा अपत्यारिलो लाग्नसक्छ । सोफिया रेसिडेन्सियल इग्लिस स्कुल विद्यालयको बिहीबार सम्पन्न १७औं वार्षिकोत्सव तथा क्रिसमस उत्सवमा ‘कलरफुल डान्स’मा निकै भव्य र रमाइलो सामूहिक नृत्य भएको थियो । यति ठूलो मञ्च बाँकेमै सम्भवतः पहिलो पटक तयार गरिएको हुनुपर्छ । पाँच कठ्ठा जग्गामा अर्थात झन्डै १७ सय मिटरको रेड कार्पेट ओछ्याएर खुला आकासमा स्टेज बनाइएको थियो । रातो, सेतो, कालो, पहेलो, हरियो, सुन्तला, सुनौलो, बैजनीलगायतका पीजीदेखि कक्षा १० सम्मका कक्षापिच्छे १२ रंगरंगैका लुगा लगाएका विद्यार्थी एकसाथ एकपछि अर्को गर्दै ७ वटा गीतमा नाच्छन् । मंसिर महिनाको पारिलो घाममा सबै विद्यार्थी रमाउँदै २० मिनेटसम्म नाचेको पत्तो नै लाग्दैन ।

नृत्यको फोटो र भिडियो खिच्न एकसाथ दर्जनौं मोबाइलका क्यामेरा तेर्सिन्छन् । ती पत्रकार नभएर अभिभावक हुन्छन् । पत्रकार पनि कार्यक्रममा थिए तर उनीहरु ज्यादा अभिभावक कम पत्रकार जस्ता ।

विद्यालयका प्रधानाध्यापक सुशीला बसेलका अनुसार पीजीदेखि कक्षा १० सम्मका ६९० जना विद्यार्थीलाई एकसाथ नृत्य गराइएको हो । ‘सुरुमा हरेक कक्षाका विद्यार्थीलाई अभ्यास गराइएको थियो । त्यसपछि सबै विद्यार्थीलाई एकसाथ मैदानमा उतारिएको थियो । त्यसैले त सबैले एउटै लयमा नृत्य गर्न सके’, विद्यालयका म्युजिक शिक्षक सुरेश गुरुङले प्रतिक्रिया दिए, ‘एकसाथ यति धेरै विद्यार्थीलाई नृत्य गराउनु चुनौतीको कुरा हो तर हामीले हरेक वर्ष सामूहिक नृत्य गराइरहेका छौं ।’

रोचक कुरा त के छ भने एउटा गीत सकिएर अर्को गीत बज्दा विद्यार्थीहरु एक ठाउँबाट अर्को ठाउँमा नाँच्दै नाँच्दै अर्को किनारमा पुगिसकेका हुन्छन् । २० मिनेको अवधिमा नाच्दा नाच्दै विद्यार्थी पाँच कठ्ठा क्षेत्रफललाई एक फन्को मारिसकेका थिए ।
यतिधेरै विद्यार्थीको सामुहिक नृत्यबाट उत्साही भएर नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले विद्यालयलाई पाठ्यक्रमको ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन सुझाव दिए । उनले अभिभावकलाई पनि आफ्ना सन्तानलाई समय दिन ध्यानाकर्षण गरे । उनले भने, ‘तपाईको छोराछोरी डाक्टर, इन्जिनियर त होलान् । आमाबुबालाई कतै बृद्धाश्रममा त छोडिरहेका छैनन्’, उनले भने, ‘आज तपाईले समय दिएर असल सन्तान बनाउनु भयो भने भोलि सन्तानले पनि तपाईलाई हेर्नेछन् ।’

विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीले नाटक पनि प्रस्तुत गरेका थिए । नाटक हेरेर अभिभावक रोएका थिए । धेरैलाई भावुक बनाएको थियो । कार्यक्रमको सञ्चालक पनि विद्यार्थी नै थिए । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्दिन राई, जिल्ला शिक्षा समन्वय इकाइका अधिकृत उद्दव श्रेष्ठ लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।