खजुराका १०० युवालाई बिना धितो सहुलियत कर्जा

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीबीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौता
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्झौता–पत्रमा हस्ताक्षर गर्दै । फोटो सौजन्य : दुर्गा रोकाय

  नेपालगन्ज : खजुरा गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन बिना धितो बैंकबाट ऋण पाउने व्यवस्था गरेको छ ।
गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानमा सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन ।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिना धितो सहुलियत कर्जा प्रदान गर्ने नीति अवलम्बन गरेको थियो । कृषि तथा पशुपालन, सीपमूलक र उत्पादनलगायतका क्षेत्रमा लगानीका लागि करिब एक सय युवाहरूलाई गाउँपालिकाको सिफारिसमा प्रदान गरिनेछ । हस्ताक्षर कार्यक्रममा अध्यक्ष कक्षपतिले भने, ‘स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि भोलिदेखि नै कार्यान्वयनमा जानेछ ।’

बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले बैंकले विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा महिला उद्यमीका लागि एक दशमलव ६ प्रतिशत र अन्य कर्जामा २ दशमलव ६ प्रतिशत व्याज रहेको बताए । एक जना उद्यमीले कम्तीमा ७ लाख रुपैयाँदेखि बढीमा १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउँछन् ।