शनिबार, कार्तिक १५, २०७७ / Saturday 31st October 2020

आत्मसन्तोषका लागि सेवा गरौं

सेवाले मन शान्त हुन्छ । अनुहारमा मुस्कान हुन्छ । आत्मविश्वास बढ्छ । जीवनमा सकारात्मक उर्जा आउन थाल्छ अनि मनमा परिर्वतन आँउछ
लेखक : अमित संग्रौला

कसैको अनुहारमा खुसी ल्याउन सक्नु नै सेवा हो । जुन निस्वार्थ भावले गरिन्छ । स्वस्थ र पवित्र मनले गरिने कुनै पनि कार्य सेवा हुनजान्छ । त्यसबाट कुनै अपेक्षा आशा राखिँदैन, श्रद्धापूर्वक गरिन्छ । भगवत्गीतामा भनिएको छ –‘सेवा गर तर फलको आशा नगर ।’ केही पाउने इच्छा चाहना राख्छौ भने त्यो सेवा रहँदैन । तपाई चिन्तित हुनुहुन्छ । उदास हुनुहुन्छ । त्यो बेला भिक्षु तथा सन्तलाई आफूले सकेसम्मको केही पैसा अथवा वस्त्र दान गर्नु त तपाईभित्र कति धेरै परिर्वतन आउँछ । तपाई खुसी त हुनुहुन्छ नै त्यो व्यक्तिको अनुहार पनि खुसी छाउँछ । दान गर्नु अनि बिर्सिहाल्नु । यदि दान दिएको सम्झिरहनु हुन्छ भने त्यो सेवामा मानिँदैन । सेवा गर्ने क्रममा फाइदा हुन्छ की हुँदैन भनेर नसोच्नु । निस्वार्थ भावले गरिरहनु । सेवा गर्ने ती व्यक्तिलाई मौका मिल्छ । ईश्वरको कृपा हुन्छ । तिनीहरु नै भाग्यमानीको महसुस गर्छन । हाम्रो गाँउ, टोल, समाजमा दिनदुःखी असाहय टुहुरालाई सेवाको भावले मद्दत गर्नसक्छौ ।
व्यस्त जीवन छ । पैसा कमाउने, घर घडेरी जोड्ने, महल ठड्याउने, यश आरामको जीवन बाँच्न चाहन्छन् तर थोरै समाजको लागि आफ्नो लागि समय निकाल्न सक्दैनौं । दिनानुदिन मान्छेले अहंकार पालेर बसेका छन् । जसबाट उनीहरु निरिह र दरिद्र बन्दै गइरहेका छन् । मान्छेभित्रको करुणा दया, पे्रम, आत्मियता, भाव हट्दै गइरहेको छ । जब तिमी सेवा गर्छौ । तब तिमी कसैलाई गुन लगाएको हुँदैनौ । सेवा गर्ना साथ त्यसको फल तिमीलाई तुरन्तै प्राप्त हुन्छ । सेवाको पुरस्कार सुनिश्चित छ र जति तिमीले गरेको हुन्छौ, त्योभन्दा अधिक नै हुन्छ । पुरस्कारको आशाले सेवालाई श्रममा बदलिन्छ । तिमीले धेरै सेवा गरिसकें भन्ने सोच्छौ भने त्यसपछि तिमी धेरै कम सेवा गर्नेछौ । तिमीले एकदम कम सेवा गरेका छौ भन्ने सोच्छौ तिमी अझ अधिक सेवा गर्नसक्छौ । श्रमको अर्थ हो पुरस्कार प्राप्त भएर पनि गुनासो रहनु । सेवामा कुनै गुनासो हुँदैन । चाहे तिमीलाई तुरुन्त फल प्राप्त नहोस् । सेवा गर्ने कुनै पनि अवसरका लागि कृतज्ञता महसुस गर । धेरै व्यक्तिहरु सेवा गर्न छोडिदिन्छन्, जब उनीहरु आफ्नो छवि, प्रतिष्ठा, सुविधा र आरामलाई लक्ष्य प्राप्तिलाई भन्दा अधिक महत्व दिन थाल्छन् । तिम्रो लागि बढि आवश्यक के हो ? जब मानिसलाई कुनै पद प्राप्त हुँदैन या अपमानित भएको महसुस हुन्छ तब उनीहरु सेवा गर्नका लागि आनाकानी गर्छन् । मानिसहरुलाई आफ्नो अपेक्षा अनुसार प्राप्त भएको छैन भन्ने लाग्यो समाजमा सेवा गर्न छाडिदिन्छन् । लक्ष्यको प्राप्तिका लागि गरिएको कार्य चुनौती नभएरसंघर्ष ठान्छन् । भने पनि उनीहरु सेवा छाडिदिन्छन् । त्यसैकारण संसारमा केही मात्र मानिसलाई लक्ष्यसम्म पुग्ने सफलता मिल्छ ।
कुनै पनि कार्य सेवाको भावले गर्दा त्यो कार्य पवित्र हुन्छ । तपाईको गाँउ समाजमा सेवामूलक कार्य गर्दा तपाईभित्र के–के परिर्वतन आउँछ ? के तपाईले अनुभव गर्नु भएको छ ? त्यो समयमा मन शान्त हुन्छ । अनुहारमा मुस्कान हुन्छ । आत्मविश्वास बढ्छ । जीवनमा सकारात्मक उर्जा आउन थाल्छ । मनमा परिर्वतन आँउछ । नराम्रो भाव हटेर जानेछ भने हाम्रा नराम्रो कर्म कटेर जान्छन् । आफ्नो लागि नै हो सोचेर एक घण्टा समय निकालौं । सेवाको भावनाले कुनै कार्य गर्दा देश विकास र समृद्धिको बाटोतिर जान्छ । हामीले जन्म लिएर यो पृथ्वीमा आयौं । हामी त केही दिनका पाहुना मात्र हौं । सत्कर्म गरेर सेवाको माध्यमबाट केही दिन सकिन्छ । भगवत्गीतामा भनिएको छ – सेवा गर्दा पापहरु नष्ट हुने गर्छ । नराम्रा कर्महरु कटेर जानेछन् । घडेरी जोड्छौ । घर बनाउँछौ । पैसाको पछि लाग्छौ । सबै थोक हुँदाहुँदै पनि मानिस दुःखी छ । असन्तुष्ट छ । एकदिन मरेर जानु पर्नेछ भन्ने थाहा पाउँदा पाउँदै पनि ऊभित्र घमण्ड छ । अहंकार छ । लोभ लालचमा फसेको देखिन्छ । सत्कर्म गरेको खण्डमा भने जीवन सुन्दर हुन्छ । हामी समाजमा सेवाको भाव राखेर जीवनमा खुसीको अनुभव सक्छौ । स्वस्थ पवित्र हृदयबाट गरिने कार्य नै सेवा हो । गरीव, असहाय, अशक्त र दीनदुःखीको सेवा गरौं । हाम्रो हृदय पवित्र हुन्छ । चित्त शुद्धिकरण हुन्छ । मानसिक रुपमा सकारात्मक भावनाको पनि विकास हुन्छ । सत्कर्म र पवित्र भावले गरिएको सेवाले जीवनमा खुसीको साथसाथै आत्मसन्तोष बनाउँछ ।
(लेखक संग्रौला झापाको विर्तामोड निवासी हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *