सोमवार, माघ १२, २०७७ / Monday 25th January 2021

कोरोनासँग लड्नसक्ने नेपाली खानपान र जीवनशैली

परम्परागत नेपाली खाना निकै सन्तुलित मात्र छैनन्, सबै परिकार ताजा, स्वास्थ्यबर्द्धक र रोगप्रतिरोधात्मक क्षमता बढाउने खालका छन्

पूर्णलाल चुके
कोरोना भाइरस कोभिड-१९ को संक्रमणले महामारी विश्वव्यापी रुपमा फैलिएको छ । यो संक्रमणले चीन, अमेरिका, इटली, स्पेन, फ्रान्स, बेलायत, इरान जस्ता विकसित र शक्तिशाली देशका अतिरिक्त २१२ देशहरुलाई आतंकित पारिरहेको छ । बिहीबार दिउँसो यो लेख तयार गरुञ्जेलसम्म विश्व स्वास्थ्य संगठन अनुसार कोरोना संक्रमित संख्या १५ लाख २३ हजार पाँच सय ५९ पुगेको छ । ८८ हजार नौै सय ८२ जनाले ज्यान गुमाइसकेका छन् । निको भएर घर र्फनेको संख्या तीन लाख ३२ हजार सात सय ९९ जना थिए ।
यस्तो अवस्थामा दक्षिण एशियाको सानो, विपन्न र पिछडिएको मुलुक नेपाल यो समस्याबाट अछुत रहने कुरै भएन । स्वास्थ्य सेवा लगायत सम्पूर्ण सुविधा सम्पन्न अत्यन्तै विकसित देशका नागरिकले त कोरोना कोभिड–१९ को संक्रमणबाट मुक्त हुन गा¥हो भइरहेको अवस्था छ । यो संक्रमण फैलियो भने स्वास्थ्य सेवामा पर्याप्त पहुँच नभएको, विपन्न, चेतनाको कमि भएको देशमा के हाल होला ? हामी त्यसैमा हामी चिन्तित छौं । यद्यपि अहिलेसम्म कोरोना पोजेटिभ देखिएका व्यक्तिका परिवारको नमूना परीक्षण गर्दा सबैको नेगेटिभ देखिएको छ । नेपालमा अहिलेसम्म २३६६ जनाको परीक्षण गर्दा २३५७ जनामा संक्रमण गर्दा नेगेटिभ देखिएको छ भने ९ जनामा संक्रमण देखिएको छ, १३४ जना आइसोलेसनमा छन् । यो लेख तयार पार्दासम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले कसैले पनि ज्यान गुमाउनु परेको छैन अर्थात मृत्यु संख्या शून्य छ । सरकारी तथ्याङ् अनुसार संक्रमितको संख्या एक सातादेखि स्थिर छ, त्यो हो नौ जना । हाम्रो लागि यो सुखद पक्ष हो । तर, ढुक्क भएर सुरक्षित छौं भन्ने अवस्था भने छैन । सुखद् पक्षको पछाडिको रहस्यको रुपमा विज्ञहरुले नेपालीहरुको खानपान र जीवनशैली पनि प्रमुख कारण मध्ये एक हुन सक्छ भनेका छन् ।
कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा जनचेतना जगाउने क्रममा नेपालीहरूको जीवनशैलीलाई पनि महत्व दिएको देखिएकोछ । कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने क्रममा डा. रवीन्द्र पाण्डेले नेपालीहरूको जीवनशैली, खानपान र परिश्रमका कारण नेपालीहरूमा रोगप्रतिरोधात्मक क्षमता बढी रहेको सन्देश प्रवाह गरेका छन् । किनकी रोगप्रतिरोधात्मक क्षमता हुने मानिसलाई यो संक्रमणले सितिमिती आक्रमण गर्दैन भन्ने विज्ञको बुझाइ छ । कोरोना संक्रमणबाट नेपालीहरु अहिलेसम्म सुरक्षित रहनुको केही महत्वपूर्ण तर्क उजागर गरिएका छन् । त्यसैले यस लेखमा विभिन्न स्रोतबाट लिइएको तथ्यहरु माथि चर्चा गर्ने कोसिस गरिएको छ ।

नेपाली खाना

नेपालीहरु दुःख पीडा छिटो बिर्सन्छन् 
नेपालीहरुको जीनमा जस्तोसुकै सुखदुःख र कठिनाइ सहनसक्ने क्षमता छ । शारीरिक परिश्रम गर्ने बानी छ । आर्थिक अभाव, भवितव्य र जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि रमाउन सक्छन् । अनि, सहनशील क्षमता उच्च छ । विदेशमा गएर १८ घण्टासम्म काम गर्न सक्छन्, नेपालीहरु ।

नेपाली समाजले मनाउने हरेक चाडपर्वहरु सबै रमाइला र उत्साहवद्र्धक छन् । नेपालीहरु मनमा जतिसुकै पीडा भए पनि नाँचगान, हाँसोठट्टा तथा रमाइलो धेरै गर्नेगर्छन् । अहिलेको विषम परिस्थितिले सिर्जना गरेको अवस्थामा पनि सामाजिक सञ्जामार्फत् सचेतनामूलक गीत संगीत, हाँस्यव्यङ्ग, ठट्टा मिश्रित मनोरञ्जनात्मक सामाग्रीहरु सम्प्रेषण (पोष्ट) गरिएका छन् । यसले हाँसो र मजाकले मानिसमा हुने निरासालाई न्यूनिकरण मद्दत गर्दछ । जीवनमा नयाँ आशा र उमङ्ग जगाउन सहायक बनिरहेको हुन्छ । यसले डर त्रास, खिन्नता र निरासाबाट मुक्त गरेर मानिसको स्वास्थ्य प्रणालीमा रोग प्रतिरोधक क्षमता (इम्युनिटी पावर) बढाउन मद्दत गरिरहेको हुन्छ ।
त्यस्तै, नेपाली महिलाहरुले मनाउने सांस्कृतिक पर्व तीज तिथिको हिसाबले दुई दिन मात्र हो । तर, महिलाहरुले करिब १५ दिनसम्म हिमाल, पहाडदेखि तराईसम्म समूह–समूहमा विभाजित भएर नाँचगान गर्ने गर्छन् । यो पर्वले घरेलु हिंसा, असमानता र विभिन्न विभेदको शिकार भएका महिलाहरुमा नयाँ उर्जाको सञ्चार गरेको आभाष हुन्छ ।

दैनिक जीवनशैली र खानपान 
हामीले दैनिक ताजा खाना खान्छौं । बिहानदेखि साँझसम्म हामीले खाने नास्ता, खाना, खाजा, चिया, कफी जे खाए पनि ताजा नै खान्छौं । फ्रिजमा धेरै दिनदेखि राखेको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन । स्वास्थ्य विज्ञहरुका अनुसार हाम्रो खानामा प्रयोग गरिने बेसार, इलाइची, ल्वाङ, अदुवा, लसुन, प्याज, टिम्मुर, ज्वानो, दालचिनी, तेजपात, दालचिनी, मरौटी, पुदिना, सम्फो, जुदो, सिलम, मरिच, जिम्मु आदि वस्तुमा रोगप्रतिरोधात्मक क्षमता प्रचुर मात्रा बढाउने तत्व हुन्छ ।
नेपालीहरुले खानाको साथमा खाने अचारमा ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ । आजको विषम परिस्थितिमा रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि प्रायः नेपालीहरुले आजकल सकभर काँचो बेसार, ज्वानो, मेथी र टिम्मुर मिश्रित तातोपानी र तातो दूधमा बेसारको धुलो मिसाएर सेवन गर्दैछन् । सकेसम्म काँचो अर्थात् आलो बेसार, टिम्मुर, तुलसी र नीमको पात मिसाएर उमालेर खान सके अझ उत्तम हुन्छ यसको प्रयोगकर्ताहरुको बुझाइ छ । यी वस्तुहरुमा एन्टिवायोटिक र एन्टीसेप्टिक गुण हुन्छ भन्ने मान्यता छ । सबै वर्गका नेपालीले पनि बिहान उठ्ना साथ र दिउँसोको खाजाको साथमा दैनिक कम्तीमा दुई पटक चिया खान्छौं । चियामा इलाइची, ल्वाङ, अदुवा, मरिच, तेजपात मिसाइन्छ । स्वास्थ्य विज्ञहरु चियामा एन्टीअक्सिडेन्ट गुण हुन्छ भन्ने कुरामा विश्वास गर्छन् ।
आयुर्वेदाचार्य डा. सरिता श्रेष्ठका अनुसार नेपालीहरुले आफ्ना विभिन्न चाँडपर्वमा तयार गर्ने खानाको प्रायः सबै परिकार स्वास्थ्यवद्र्धक र रोगप्रतिरोधात्मक हुन्छन् । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा वर्षको चार महिना आयुर्वेद चिकित्सा विषयमा अध्यापन गर्नु हुने डा. श्रेष्ठका अनुसार नेवारी परिकारहरु पनि वैज्ञानिक छन् । अनि, यी परिकारहरुमा स्वास्थ्यबर्द्धक र रोगप्रतिरोधात्मक तत्व मिश्रित छन् । नेवारी खाना र खाजामा बढी प्रयोग हुने साधा र साँधेको भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, क्वाँटी, साँधेको बदाम आदिले हाम्रो आन्तरिक स्वास्थ्य प्रणालीलाई बलियो बनाउन मद्दत गरिरहेका हुन्छन् उहाँ थप्नुहुन्छ । डा. श्रेष्ठले नेपालीहरुको चाडपर्वहरुमा बनाइने परिकार र खानपानको बारेमा पुस्तक नै प्रकाशित गर्नुभएको छ ।

फोटो : इन्टरनेटबाट

नेवारी खानाको परिकारमा लसुन, अदुवा, प्याज, इलाइची, मरिच, बेसार अधिक मात्रामा प्रयोग गरिन्छ । यसको सेवनबाट रगत पातलो बनाउँछ, ब्लड पे्रसर र मुटुको चाललाई सन्तुलित रुपमा राख्छ भन्ने विश्वास नेपालीहरुमा छ । त्यसैले पनि कतिपय मानिसले बिहान खाली पेटमा पनि काँचो लसुन खाने गर्छन् । स्वास्थ्य विज्ञका अनुसार नेपालीले प्रयोग गर्ने मसलाहरुमा कोरोना भाइरस संक्रमणसँग प्रतिकार गर्ने तत्वहरु पनि हुन्छ ।
हामी नेपालीहरुले खाने चटनी र अचार (गोलभेंडा, भाँगो, टिम्मुर, धनियाँ, पुदिना, बत्तिलो, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भान्टा (भर्ता), तिल, फर्सीको बियाँ आदि) बढी रुचाउँछौं । पिरो गुन्द्रुकको अचार, काँचो आँप र टिम्मुरको पिरो छोप जिब्रोको लागि स्वादिलो मात्र हैन एन्टीसेप्टिक पनि हुन्छ । त्यस्तै, केराको बुङ्गो, कोइरालाको फूल, काप्रोको मुना, सजिवन (मोरिङ्गा), लप्सी, सिप्लिगान, भक्किम्लो, सित्तलचिनी, गोलभेँडाको भ्यात्तल आदिको अचार निकै स्वादिलो र स्वास्थ्यवद्र्धक मानिन्छ । नेपाली परम्परागत खाना जस्तैः नेवारी खाजा, थकाली खाना लगायत निकै सन्तुलित भोजन मानिन्छ । यी परम्परागत टिपिकल खाना नेपालमा आउने विदेशीहरुले पनि मन पराउँछन् ।

मेरो चार अनुभव
१) सन् २००१ को कुरा हो । नेपालगन्जमा एक जना विदेशी साथीले आफ्ना नेपाली साथीहरुलाई खाना खान बोलाए । उनले नेपालीलाई मनपर्ने पिरो अचार आफ्नै हातले बनाउने तम्सिए । तर, जब उनले अचारमा खुर्सानी राखेर मोल्न थाले । त्यसपछि उनको शरीरमा नकारात्मक असर प्रवाह भयो र इलर्जी भएर विरामी नै परे । खाना खान पुगेका साथीहरु उनलाई डाक्टर कहाँ लगेर उपचार गराउने अवस्था सिर्जना भयो । जबकी नेपाली महिलाहरु बिहान साँझ अचार बनाउँदा खुर्सानीसँग खेल्नु नित्यकर्म नै हो ।
२) करिब १७ वर्ष अघि नेपालका तत्कालीन राजारानीसँग चीनको राजकीय भ्रमण टिममा पत्रकारको हैसियतले मोफसलबाट म पनि सहभागी थिएँ । त्यसबेला हामीलाई चीनको राजधानी वेइजिङको रोयल गेष्ट हाउसमा बस्ने व्यवस्था गरिएको थियो । गेष्ट हाउसमा त्यहाँ होटेल म्यानेजमेन्ट मास्टर डिग्रीमा अध्ययनरत इन्टर्नसीपमा खटिएका छात्राहरुले अतिथि सत्कारको जिम्मा पाएका थिए । उनीहरुलाई अति विशिष्ट पाहुनाहरुलाई सत्कार गर्ने तालिम पनि दिइएको थियो । खानामा एक थरी ट्वाक्क अचारसँग खाने बानी परेका हामी नेपालीहरुलाई चिल्लो पिरो र मसला नै नभएको खाना खल्लो लाग्नु स्वाभाविक हो । मैले उनीहरुसँग हरियो खुर्सानी मागें । तर, उनीहरुले खुर्सानीको बारेमा अनभिज्ञता व्यक्त गरे । हामीलाई अचम्भ लाग्नु स्वाभाविक हो ।
३) २०६८ सालको कुरा हो । मेरो आमाको स्वर्गवास भयो । हामी तीन भाइ छोराहरु बुटवल लक्ष्मीनगरको घरमा किरियामा बसेका थियौं । घर नजिकको जङ्गलमा बिहान आफ्नो संस्कार अनुसार नुहाएर पितृकार्य गरेपछि आफैले भात पकाएर घिउ र घिउमै फ्राई गरेको काँचो केराको तरकारीसँग मुछेर खान्थ्यौं । हाम्रो एक जना विष्णु नामको भाइ, जो लाटो थियो बोल्न सक्दैन थियो, तर एकदमै बाठो र चनाखो थियो) ले १३ दिनसम्म आफ्नो साथमा ३ वटा हरियो खुर्सानी लिएर हामीसँग जान्थ्यो र खाना खाने बेलामा हामीलाई १÷१ वटा खान दिन्थ्यो । उसले हरियो खुर्सानीको गुणको बारेमा इसारामै हामीलाई सम्झाउने गथ्र्यो । भिटामीन “सी” को तत्व भएको हरियो खुर्सानी सधैं कम्तीमा एउटा मात्र खायो भने रुघाखोकी र झाडापखाला कहिल्यै लाग्दैन भनेर हामीलाई सम्झाउने गरेको कुरा अहिले पनि सम्झना छ । यसको महसुस मैले पनि गरिरहेको छु । पाएसम्म मैले खानासँग एउटा हरियो खुर्सानी खाने गर्छु ।
४) नेपाली समाजमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, घरेलु औषधीको निकै प्रयोग हुन्छ । मेरो आफ्नै दाइले बुटवलमा जंगलमा पाइने जडीबुटी, घाँसपातबाट कब्जियत, अपच, कुफत, ग्यास्टिक आदिको औषधी अहिले पनि आफै बनाएर छरछिमेकमा बेच्नु हुन्छ ।

ताजा खाना प्रयोग
हामीले सकेसम्म आफ्नो हुनेले आफ्नै खेतबारी, करेसाबारीमा फलाइएका ताजा तरकारी र साग टिपेर खाने गर्दछौं । गाईभैंसीको दूध, घरमै बनाइएको दही, घ्यु, मौरीको मह, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, भटमास आदि दैनिक प्रयोग गर्छौंं । मौसम अनुसारका फलफूल निकै स्वास्थ्यवद्र्धक हो । तर पनि अधिकांश नेपालीले भने बिरामी हुँदा मात्र फलफूल खान पाउँछन् । भनिन्छ, ताजा मासु निकै स्वस्थकर हुन्छ । प्रायः नेपालीले फ्रोजन मासु ल्याएर, फ्रिजमा महिनौं राखेर खाँदैनन् । नेपालीहरू मुख बार्न निकै सिपालु हुन्छन् । विभिन्न बार र चाडपर्वमा व्रत बस्ने परम्परा र संस्कारले पनि पाचन प्रणालीलाई बलियो बनाएको हुन्छ ।
चामल, कोदो, भेली, मौवाको रक्सी, जाँड, छ्याङ, तोम्बालगायतका घरेलु रक्सी सिमित मात्रामा खाँदा स्वास्थ्यमा नकारारात्मक असर परेको देखिंदैन । अहिले पनि पहाड र हिमाली भेगमा बस्ने वृद्धवृद्धाहरुले मदिरा नियमित सेवन गर्छन् । हामी नेपालीहरु जन्मेदेखि नै आफ्ना बच्चालाई तोरी तेलले मालिस गर्ने, तालुमा तेल ठोक्ने, नाइटो र कानमा तेल राख्ने परम्परा नै छ । प्राकृतिक खाना खाएर हामी हुर्किएका छौं । तर पश्चिमा मुलुकका नवजात शिशुहरुलाई नुहाएर पाउडर दल्छन् र तेल मालिस गर्दैनन् ।

कृत्रिम र आधुनिक वस्तुको कम प्रयोग
अधिकांश नेपालीले ट्वाइलेट पेपर, टिस्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग गर्दैनन् । त्यस्तै वासिङ मेसिनको प्रयोग पनि एकदमै नगन्य मानिसले मात्र गर्छन् । त्यसैले घरका सबै लुगाहरु आफै धुने गर्छन् नेपालीहरु । विकसित देशमा जस्तो भाँडा माझ्ने मेसिन नेपालमा छैन । ग्यास र दाउराले पकाउँदा कालो भएको र चिल्लो भएको भाँडाहरु साबुन र खरानीले मिचीमिची धुने बानी नै परेको छ । अर्थात् नेपालीहरुले बिहानदेखि साँझसम्म दर्जनौं पटक हात धोइरहन्छन् । पानीसँग खेल्ने हाम्रो बानी नै छ । अहिले पटक–पटक साबुन पानीले हात मिचीमिची हात धुन विश्व स्वास्थ्य संगठनले पनि सिफारिस गरेको छ र नेपाल सरकारले पनि व्यापक रुपमा प्रचारप्रसार गरिरहेको छ । टेलिफोन सेवा प्रदायक संस्थाले त आजकाल जनचेतनामूलक सन्देशको रुपमा यसको रिङ टोन नै बनाएको छ । यसबाट कोरोना संक्रमणको चेन ब्रेक गर्न मद्दत गर्दछ भन्ने विश्व स्वास्थ्यय संगठनको बुझाइ छ । त्यसैले स्यानिटाइजर पनि पर्याप्त नपाइने नेपालमा जताततै साबुन पानीबाट हात धुने विधिकै बढी प्रचारप्रसार भइरहेको छ ।

अघोषित ध्यान
त्यस्तै अर्को महत्वपूर्ण कुरा के भने हामीले घरमा र मन्दिरमा नित्य पूजा आराधना गर्छौंं । जुन काम गर्दा थाहा हामीले नपाइकनै ध्यान गरिरहेका हुन्छौं । हाम्रो शहर, गाउँघर जताततै रहेका मठ मन्दिर, गुम्बामा दैनिक पूजा आराधना गरिन्छ । मुस्लिम समुदायको मस्जिद र घरघरमा हरेक व्यक्तिले नमाज पढ्छन् । इसाई धर्मावलम्वीहरुले हरेक शनिवार चर्चमा सामूहिक प्रार्थना गर्छन् । धार्मिक आस्थासँग जोडिएको भए तापनि यो प्रक्रियामा मानिसले प्रत्यक्ष अप्रत्यक्ष रुपमा एक किसिमको ध्यान गरिरहेका हुन्छन् । किनकी यो अवधिभर मानिसहरुको ध्यान एकाग्र र एउटै विन्दूमा केन्द्रित हुन्छ ।
कुनै मानिस बिरामी भयो भने अस्पताल, स्वास्थ्य केन्द्र, मेडिकल हलको सुविधा र पहुँच नभएको ठाउँमा तन्त्र, मन्त्र, लागोभागो, धामीझाँक्री आदिको साहरा लिने गर्छन् । यद्यपि यसलाई आजको वैज्ञानिक युगमा अन्धविश्वास र रुढीवादी परम्पराको रुपमा लिइन्छ । तर यसको सकारात्मक पक्ष के हो भने यसका ज्ञाता र पक्षधरहरु यस भित्र लुकेको मनोवैज्ञानिक पक्ष आत्मबलवद्र्धक छ भन्ने गर्छन् ।
तर, कोरोना भाइरसको संक्रमणले विश्वलाई नै हल्लाइरहेको अहिलेको समयमा यसबाट बच्नको लागि घर भित्रै बस्नु, एकन्तबास बस्नु, सामाजिक दुरी कायम राख्नु, सरसफाईमा ध्यान दिनु, भय, त्रासबाट विमुख भइ निर्भय, निडर, निश्चिन्तपूर्वक दिनचर्या व्यतित गर्न केन्द्रित हुनु नै उत्तम विकल्प हो । अनि मात्र आफू बाँच्न, परिवारलाई बचाउन र सम्पूर्ण मानव समुदायलाई बचाउन सक्दछौं ।

(लेखक चुके नेपालगन्जबाट प्रकाशित हुने जनमत अर्द्धसाप्ताहिकका सम्पादक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *